कास्की ११ माघ । क्यानडा लैजाने भनेर गैर कानुनी रूपमा शुल्क लिएर अन्तरवार्ता लिइरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना विदेशी र ४ नेपाली नागरिक रहेका छन् ।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तरवार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा ९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका ३ की ३२ वर्षिया सिमा सुनार र काठमाडौं महानगरपालिका १४ कलङ्कीका ३८ वर्षीय प्रदिप उपाध्याय रहेका छन् ।
त्यस्तै क्यानडामै स्थायी बसोबास भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपाल जिल्ला स्थायी घर भएका ३२ वर्षीय ईस्मित कौर पक्राउ परेका छन् । क्यानडा जानको लागि प्रतिव्यक्ति तीस लाख रुपैयाँ लाग्ने भनेर अन्तरवार्तामा बोलाएको पाइएको प्रहरीको भनाइ छ ।