स्याङ्जा १६ पुस । स्याङ्जाका गुरुङ् तथा तमुहरुले नयाँ बर्ष अर्थात तमु ल्होसार दुई दिनसम्म बिबिध कार्यक्रमगरि मनाएका छन् ।
तमू हयूल छोंज धी गुरुङ राष्ट्रिय परिषद एवं तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद वडा इकाई समिति पुतलीबजार वडा नं. १ र ३ को आयोजनामा तमु ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रमगरि पुतलीबजारमा दुइ दिन ल्होसार पर्व मनाएका हुन ।
शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने मूल नाराका साथ तमु ल्होसार पर्व मनाइएको हो ।
दोश्रो दिनको कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नेपालका बिभिन्न जातजातिका बिबिध कला, संस्कृति र संस्कार नै नेपालको पहिचान भएको जनाउदै सबै जातजातीले आ आफना मौलिक कला सम्पतिको संरक्षण गर्नु पर्ने बताउनुभयो । नेपालको पहिचानभित्रको तमु जातीको कला, धर्म, संस्कृतिको महत्वपूर्ण स्थान रहेको बताउदै पुर्खाले सुम्पेको संस्कृति र संस्कारलाई जीवन्त बनाउनु पर्नेमा उहाले जोड दिनुभयो ।
तमू जातिको हक, हित र आवश्यक सहयोगका लागि पुतलीबजार नगरपालिका सदैव तयार रहेको र आवश्यक सहयोग गर्दे आएको उहाले भन्नुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, तमु ह्युल समाजका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिका २ का अध्यक्ष भीमबहादुर गुरुङ, तमु समाजका कानूनी सल्लाहकार एकबहादुर कुमाल, धर्मोदय सभाका अध्यक्ष रेखबहादुर गुरुङ, तमू समाजका पूर्वअध्यक्ष भगत गुरुङ लगायतले तमु ल्होसारको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तमु समाज स्याङ्जाका अध्यक्ष अणबहादुर गुरुङ्को अधयक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष किसन गुरुङ्ले स्वागत एवम् सचिव दानबहादुर गुरुङ्ले सञ्चालन गर्नुभएको थियो । तमू समाजको शौचालय र भान्सा घर निर्माणका लागि दुई आर्थिक बर्षमागरी १० लाख नगद सहयोग उपलब्ध गराएको भन्दै नगरप्रमुख रेग्मीलाई धन्यवाद सहित सम्मान गरिएको थियो ।
यसैगरी, सोही कार्यक्रममा तमु समुदायका कक्षा १२ उत्र्तीण भएका छोराछोरी, जेष्ठ नागरिक सहित समाजमा उल्लेखनीय योगदान पुरयाउनु भएका समाजसेवी एवं बाबा आमालाई पनि सम्मान गरिएको थियो ।
तमु अर्थात गुरुङ् समाजले पुस १५ गतेका दिनलाई बर्ग परिवर्तन हुने दिनलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन । गुरुङ समुदायले नयाँ बर्षको रुपमा पुस पन्ध्रलाई भव्यताका साथ मनाउँदै आएका छन् । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । अघिल्लो बर्षको गिद्ध बर्गलाई बिदाई र सर्प बर्गको स्वागत गर्दै बिबिध कार्यक्रम गरि पुस १५ र १६ गते बिबिध कार्यक्रम गरि तमु ल्होसार पर्व मनाएका छन् ।
पुस १५ गते सोमबार पहिलो दिन गुरुङ् समुदायले आ आफना कला, संस्कृति र पहिचान सहित पुतलीबजार नगरपालिका अर्थात स्याङ्जा सदरमुकामको परिक्रमा गरेका थिए ।