स्याङ्जा ६ माघ । स्याङजा निर्माण व्यवसायी संघले आफ्ना १४ बुँदे माग सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार ज्ञापनपत्र पठाएका छन् । यही माघ १५ गतेका दिनसम्म अल्टिमेटम दिदै ब्यासायीले त्यसपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
स्याङ्जा निर्माण व्यवसायी संघका अध्यक्ष अर्जुनकुमार कार्कीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई १४ बुँदे माग सहितको ज्ञापन पत्र पठाएको हो । अध्यक्ष कार्कीले जिल्ला प्रशासन कार्यालयका अधिकृत संयोग भट्टराईलाई माग सहितका ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको हो ।
निर्माण व्यवसायीले सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, कालोबजारी सम्बन्धमा, निर्माण व्यवसायीहरुको विभिन्न कारणले बाँकी रहेको अरबौँ भुक्तानी सम्बन्धमा, सार्वजानिक खरिद नियमावलीको तेह्रौँ संसोधनबाट सिर्जित म्याद थपको समस्या, राष्ट्र बैंकले ऋण लगायतमा दिएको सुविधा कटौती बाट निर्माण उद्योगमा परेको असर, विभिन्न कारणले रुग्ण रहेका ठेक्काहरु सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ३ को खण्ड ख र उपदफा ८ बाट हुने कारबाही खारेज सम्बन्धमा, निर्माण उद्योगको समाधानका लागि सार्वजानिक खरिद ऐन तथा नियमावली तत्काल पुर्नेलेखन गर्नुपर्ने, निर्माण सामाग्री, लो बिडिङ निरुत्साहित गर्ने लगायतका माग गरिएको छ ।
त्यस्तै नम्स तथा स्पेशिफिकेशन, इन्स्योरेन्स, सरकारसंग विगतमा भएको सहमति कार्यान्वयन, नियमक निकायबाट हुने गरेका काम कार्बाहीका कारण निर्माण उद्योगमा परेको असर, निर्माण सम्बन्धी उच्चस्तरीय आयोग गठन गर्ने लगायतका माग छन । ब्यवसायीले आफना माग सम्बोधन नभए माघ १८ देखि २१ गतेसम्म आन्दोलन गर्ने त्यसपश्चात पनि माग सम्बोधन नगरिए निर्माण कार्यको काम ठप्प पार्ने सम्मका चेतावनी दिएको छ ।
माघ १८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गते राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने र तत् पश्चात पनि माग पुरा नभए राष्ट्रिय गौरबको आयोजना सहित सवै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सात प्रदेशमा रहेका निर्माण ब्यवसायी महासंघ, ७७ जिल्ला निर्माण ब्यवसायी संघ, २७ एशोसियट सदस्य र एक बस्तुगत संघ सदस्यगरि करिब २४ हजार बढी निर्माण ब्यवसायी रहेको बताइएको छ ।