स्याङ्जा १५ पुस । कम तौल र श्वासप्रश्वासमा समेत समस्या रहेका स्याङ्जाजका एक नवजात शिशु महिनादिन नपुग्दै २ सय ग्राम तौल बृद्धिगरि घर फर्किएका छन ।
अस्पताल आउदै गर्दा गाडीमा जन्मेका। जन्मदै १५ सय ग्राम तौल। र, श्वासप्रश्वासमा पनि समस्या भएका ती नवजात शिशु स्वास्थ्यलाभगरि घर फर्केका हुन।
पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा रहेको शिशुसघन उपचारकक्ष (एनआईसीयू) मा राखेर उपचार गरेरपछि ४ दिनअघि अभिभावकसंगै घर फर्किएका छन ।
‘यहाँ आए लगत्तै २९ दिनसम्म शिशुलाई राखियो। बालरोग बिशेषज्ञ सहितको चिकित्सकको टोलिले रेखदेख गरिरहनुभयो। त्यतीबेलासम्म शिशुको तौल २ सय ग्रामले बढ्यो। श्वास प्रश्वास सहज बन्यो। आवश्यकता अनुरुपको अक्सिजन पनि पुगको भन्ने चिकित्सकका सल्लाह बमोजिम घर पठाएका छौं।’ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले भन्नुभयो ।
अध्यक्ष गोदारका अनुसार, अस्पतालले करिब डेढ बर्षअघिदेखि शिशुसघन उपचार कक्ष स्थापना गरेको हो। गण्डकी प्रदेशका तत्कालिन सामाजिक तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले एनआइसीयु, पीआइसीयुका ४÷४ शैयाको उपचारकक्ष उदघाटन गर्नुभएको थियो । त्यसपछि अस्पतालमा नवजात शिशुले उपचार पाउदै आएका छन्। उपचार कक्ष नहुँदा पोखरा पठाउनु पर्ने वाध्यता थियो।
शिशुसघन कक्षमा नवजात शिशुलाई २८ दिनसम्म राखिन्छ। शिशुसघन कक्षमा रहेको दशदिनपछि आमाले अंगालोमा भर्दै आमाको मायाबाट पनि उपचार गरिने चिकित्सकको भनाई छ। जन्मेकै दिन यहाँ आउदा शिशुको मुुटुले पम्प गर्न ढिलाई गरेको, श्वास फेर्न गाह्रो भएको र शिशुमा अक्सिजनको मात्रा पनि निकै कम रहेको अस्पताल प्रमुख डा. सुशिल मरासिनीले जानकारी दिनुभयो ।
अस्पतालमा शिशुसघन उपचारसेवा दिन थालेपछि अहिलेसम्म ३० जना शिशुले यसरी नै उपचार पाएका छन्। ती मध्ये ४ जना जतिलाई पोखरा पनि रिफर गरिएको नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. बिनोद गैह्रेले जानकारी दिनुभयो।
कम तौल र स्वास्थ्यमा समेत समस्या देखिएको नवजात शिशुको आफनै जिल्लाको सरकारी अस्पतालमा उपचारपछि स्वास्थ्यलाभगरि घर लैजान पाउदा निकै खुशी लागेको आमा सीता थापा (नाम परिवर्तन) ले बताउनुभयो ।
शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसंगै स्याङ्जाबाट उपचारका लागि पोखरा, काठमाण्डौ जस्ता ठूला तथा सम्पन्न अस्पताल जान नपर्नेगरी सेवा दिईने डा. मरासिनीको भनाई छन्। पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि गरेसंगै स्वास्थ्योपचारका लागि यहाँ आउने सर्वसाधारणको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ।
बिस २०५७ सालमा स्थापित जिल्ला अस्पतालमा बिभिन्न बिशेषज्ञ सेवा, डायलायसिस लगायत सामान्य तथा जटिल प्रकारका शल्यक्रिया सहितका स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ।