स्याङ्जा २२ मंसिर । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले कानून र सिद्धान्तमा राम्रा कुरा उल्लेख गरिएता पनि ब्यवहारमा के कति कार्यान्वयन भए त्यसका बारेमा सुधार गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगले सोमबार स्याङ्जामा आयोजित कार्यक्रमको उदघाटन गर्दै समाजका असमानता र हिंसा अन्त्यकालागि सबै राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाले समयमै ध्यान दिई आवश्यक कामकारवाही गर्नु पर्ने बताउनुभयो ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा आयोगले यहाँका राजनैतिक दलहरुबीच संबिधान, नीति, अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा भएका लैंगिक न्यायका सवालमा गरिएका प्रशिक्षण एवं अन्र्तक्रियामा बोल्दै मन्त्री बस्यालले दिगो विकासका लक्ष्यप्राप्तिकालागि आ आफना काम, कर्तब्य र अधिकारका मूल लक्ष्य भेटाउन अघि बढ्नुपर्ने भन्नुभयो ।
सानो देश भए पनि नेपाल प्रकृतिले धनि भएको जनाउदै मन्त्री बस्यालले पर्यटन मार्फत उद्यम बिकास गरेर आर्थिकोपार्जनकालागि धेरै संभावना भएकोे उहाको भनाई छ । मुलुकमा केही भएन भन्नेका लागि मन्त्री बस्यालले भन्नुभयोे, ‘सामाजिक, राजनैतिक, आर्थिक, भौतिक विकासले गति लिएको छ, परिवर्तन भएको छ ।’ जेन—जी आन्दोलनले सिकाएको पाठा र ध्वशंलाई नियाल्दै अघि बढ्नुको बिकल्प नरहेको मन्त्रीको भनाई छ ।
जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले हरेक क्षेत्रमा महिला सहभागिताको आवश्यकता औल्याए । राजनैतिक तथा सामाजिक आन्दोलनमा महिलाको उल्लेख्य योगदान रहेको प्रमुख घर्तिको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदाता नामावलीमा लैंगिक अवस्था, स्याङ्जा जिल्ला अदालतका युवराज ढकालले अदालतमा दर्ता भएका लैगिंक हिंसा सहित अन्य मुद्धाका बारेमा र जिल्ला न्यायधिवक्ता लालप्रसाद आचार्यले हिंसाका प्रकृति र प्रबृत्तिका बारेमा आ आफना कार्यालयगत जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बन्दना लम्साल, नेपाली कम्यूनिष्ट पार्टीका प्रतिनिधि कल्पना अर्याल, राष्ट्रिय स्वतन्त्र पाटीैका पुतलीबजार नगरसभापति डा. बसन्त पंगेनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनप्रसाद गुरुङ, गैरसरकारी संस्था महासंघका सदस्य शान्ता नेपालीले हरेक क्षेत्रमा महिला हिंसाका घटना अझै पनि बिद्यमान रहेको जनाउदै महिला हिंसा न्यूनिकरणका लागि चेतना, शिक्षा, आत्मनिर्भरतामा जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका सदस्य साबित्रीकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला विकास अधिकारी एवं उपसचिव सीता अधिकारीले संचालन एवं आयोगका उपसचिव रोशनीदेवी कार्कीले राजनैतिक दलहरुबीच संबिधान, नीति, अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा भएका लैंगिक न्यायका सवालका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
