स्याङ्जा २७ कात्तिक । प्रशासनिक पहुँच भन्दा टाढा रहेको हरिनाश गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गृहकोटमा बिहीवार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र हरिनाश गाउँपालिकाको ब्यवस्थापनमा भएको सो कार्यक्रमको जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी र हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो ।
स्थानीय तहमा शान्ति सुरक्षाको स्थिति, लागू औषध दुरुपयोग नियन्त्रण, सार्वजनिक सेवाप्रवाह सहजीकरण र उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बिषयगत क्षेत्रका जानकारहरुले अलगअलग प्रस्तुत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पोैडेल, लागू औषध दूरुपयोग नियन्त्रण सम्बन्धमा प्रहरी उपरीक्षक दधिराम न्यौपाने, उपभोक्ता सचेतना सम्बन्धमा राजेन्द्र मरासिनी र सूचनाको हक र संचारमाध्यमको भूमिका बिषयमा पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले आ आफना तथ्यगत बिचार एवं कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा समन्वय उपप्रमुख सुवेदीले स्थानीय प्रहरी, प्रशासनको समन्वयमा जिल्लाको शान्ति सुरक्षा, अमनचैन र विकास निर्माणमा सहज भएको बताउनुभयो । हरिनाश गाउँपालिकाका प्रमुख मानन्धरले सीमित साधनस्रोतका बाबजूद पनि पालिकाले पूर्वाधार बिकास लगायत सेवा प्रवाहलाई समन्यायिक हिसावले सेवा प्रदान गर्दै आएको स्पष्ट पार्नुभयोे ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रजिअ अर्यालले उठेका जिज्ञासाको जवाफ दिदै जिल्लाको शान्ति सुरक्षा, अमनचैन कायम राख्न जिल्लाबासीको यथेष्ट सहयोग प्राप्त भएको र नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङजाका लेखाप्रमुख रमेश विश्वकर्माले संचालन, हरिनाश गाउँपालिकाका उपप्रमुख इन्द्रा थापाले स्वागत र जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासन प्रमुख रामप्रसाद शर्माले सहजीकरण गर्नु भएको सो कार्यक्रममा हरिनाश गाउँपालिकाका कर्मचारी, स्थानीय राजनैतिक दलका प्रमुख, सार्वजनिक बिद्यालयका प्रधानाध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुको उल्लेख सहभागिता रहेको थियो ।
