स्याङ्जा २२ असोज । डेंगी रोग नियन्त्रणका लागि पुतलीबजार नगरपालिकाका सरोकारवालासंग अभिमूखीकरण गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संगै अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य नै धन भएकोले नगरपालिकाले पनि स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । सबेैको सहयोग र क्रियाशिलताले पुतलीबजार नगरपालिकाले गण्डकी प्रदेशको तेस्रो हुन सफल भएको बताउदै स्वास्थ्यकर्मी र स्वयंसेविका लगायत सम्पूर्ण नगरबासीलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।
संक्रमित लामखुट्टेका कारण लाग्न सक्ने डेंगी रोगबाट बच्न नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफना घर, आगन, वरपर तथा छरछिमेकमा समेत सरसफाई गरि लामखुट्टेका अण्डा, लार्भा, प्यूपा लगायतलाई नष्ट गर्न सुझाव दिनुभयो ।
यसैगरी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगरप्रवक्ता मनोज पौडेल लगायतले डेगी रोगको संक्रमणले ज्यानै जान सक्ने हुदाँ सरसफाईसंगै, हातखुट्टा छोपिनेगरी लुगा लगाउने र सुत्दा झुलको प्रयोग गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा ल्याब अधिकृत पृथ्वीप्रसाद लामिछानेले डेंगी रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विस २०६१ सालदेखि सुरु भएको डेगी रोगको संक्रमण ७ प्रदेश मध्ये गण्डकी प्रदेश र छिमेकी जिल्ला तनहुमा बढी देखिएको बताउनुभयो । छिमेकी जिल्ला तनहुमा देखिएको संक्रमण स्याङ्जामा आउन नदिनेगरी नियन्त्रणका उपाय अपनाउनका लागि खोज र नष्ट गर अभियानलाई जारी राख्नु पर्ने बताउनुभयो । उहाले अहिलेसम्म स्याङ्जाका ३४८ जनामा डेगीको संक्रमण पुष्टि भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत इश्वर थापाले संचालन गर्नुभएको थियो ।