स्याङ्जा ९ पुस । स्याङ्जामा संचालित क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधी सेनाका करण रावलले जित्नु भएको छ। पाँचौं संस्करणको २१ बर्ष माथिको २५ किलोमिटर क्रसकन्ट्री खुल्ला दौड प्रतियोगिताको उपाधी रावलले हात पार्नु भएको हो ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित खुल्ला राष्ट्रिय स्तरको दौड प्रतियोगितामा रावलले १ घण्टा २७ मिनेट ५२ सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।
उपाधीसंगै उहाले ५० हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत हुनु भएको छ ।
प्रतियोगितामा सेनाकै टंकबहादुर कार्कीले दोश्रो भए। उनले १ घण्टा ३२ मिनेट ९ सेकेन्डमा सोही दूरी पार गर्नुभयोे। रमेश लिम्बुले १ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा सोही दुरी पार गर्दे तेस्रो हुनु भएको छ । दोश्रो र तेस्रो हुनेले क्रमश ः ४० हजार र ३० हजार नगद सहित कप मेडल र प्रमाण पत्र पाउनु भएको छ ।
पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु भएको दोैड सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको थियो ।
प्रतियोगितामा २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडमा सनम गुरुङले ४६ मिनेट ३५ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जित्नु भएको छ । बिजेता बन्दै गुरुङले १५ हजार रुपैंया सहित मेडल र प्रमाणपत्र पाउनुभयो । उपविजेता पदमबहादुर मानन्धरले ४९ मिनेट ३५ सेकेन्ड र तेस्रो रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्नुभएको थियो । मानन्धरले १० हजार र बुढाथोकीले पाँच हजार पाउनुभयो ।
खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि जित्दै १५ हजार नगद जित्नु भएको छ । उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर १० हजार पाउनुभयो ।
विद्यार्थीतर्फ ५ किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थी नै बिजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूह तेस्रो भएको छ । रिले दौडको विजेताले १२ हजार, ८ हजार र ४ हजार नगद पाएका छन ्।
प्रतियोगितामा देशभरका २ सय जना दौड प्रतिस्पर्धामा थिए। आयोजकले २५ किलोमीटर खुल्ल, १० किलोमीटर महिला खुल्ला, १० किलोमीटर २१ बर्ष मुनिका पुरुष खुल्ला र माध्यमिक स्तरीय बिद्यार्थीबीच ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता भएको महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी गराउनुभयो ।
प्रतियोगितामा विजयी सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्दै ग्रामिण भेगमा बृहत खेलकूद प्रतियोगिता संचालनगरि खेलाडीप्रति प्रोत्साहित गर्ने कार्यको प्रशंसा गर्दै आवश्यक सहयोग प्रतिवद्धता जनाउनुभयो ।