स्याङ्जा १५ असोज। सम्मानित बुढ्यौली विश्वब्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण भन्ने मूल नाराका साथ आज ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजनामा वडा नं. ३ स्थित काफलडाँडा र वडा नं. १३ को माझी बस्तीमा पुगेर जेष्ठ सम्मान सहित स्वास्थ्य परिक्षण गरिएको हो । काफलडाँडा स्थित दलित बस्ती र माझी बस्तीमागरी ४० जनालाई सम्मान एवं उनीहरुका स्वास्थ्य परिक्षण गरिएको हो ।
नगरप्रमुख तुलसीराम रेग्मीले दुबै वडामा पुगेर त्यहाँका जेष्ठ नागरिकलाई पछ्यौरा, हर्लिक्स, फलफुल, फूर्टि प्रदान गर्नु भएको छ । जेष्ठ नागरिक सम्मान गर्दै प्रमुख रेग्मीले जेष्ठ नागरिक हाम्रा पथप्रर्दशक भएको जनाउदै उहाहरुका राय सुझाव सल्लाह मनन् गरेर अघि बढेमा सफलता प्राप्त हुने बताउनुभयो । स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले जेष्ठ, महिलादेखि बालबालिकासम्मका औषधोपचारमा ध्यान दिएको बताउनुभयो ।
नगरबासीलाई लक्षित गर्दै मुटु रोग, आखा शिविर, स्तन तथा पाठेघरका क्यान्सर स्क्रिनिङ परिक्षण लगायत बृहत स्वास्थ्य शिविर सम्पन्न गरिसकेको जानकारी गराउनुभयो । आर्थिक रुपमा विपन्न रहेको बर्ग कुमाल, माझी, दलित लाई लक्षित आफनो कार्यकालमा एक लाख रुपैंयाको निशुल्क विमाका ब्यवस्था मिलाएको उहाले भन्नुभयो । आगामी दिनमा पनि जेष्ठ तथा विपन्न परिवारलाई लक्षित कार्यक्रम ल्याईने उहाको भनाई छ ।
यसैगरी, स्वास्थ्य अधिकृत भवानीशंकर पोखरेलले जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुरुपमा राय सुझाव परामर्श दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा नं. १० का अध्यक्ष अग्नीप्रसाद पौडेल, वडा नं. ३ का कार्यवाहक अध्यक्ष सोमबहादुर कुवर र वडा सदस्य सविता नेपाल, वडा नं. १० का कार्यवाहक अध्यक्ष सूर्य रोका र वडा सदस्य सत्यदेवी अर्याल, वरिष्ठ प्रशासकिय अधिकृत धनप्रसाद कोइराला, महिला तथा बालबालिका शाखा प्रमुख ठगिकुमारी खनाल लगायतले जेष्ठ नागरिक दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दुबै वडामागरि ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।