स्याङ्जा २९ मंसिर । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्मृतिमा भारतीय शहर जयपुरदेखि काठमाण्डौंसम्मको रथयात्रा गरिने भएको छ ।
१६ डिसेम्बर अर्थात पुस १ गते सोमबार जयपुरमा अटल जयन्ती महोत्सवको आयोजना गरिएको छ । राष्ट्रिय समता स्वतन्त्र मंचद्धारा आयोजित उक्त महोत्सव विश्व स्तरमा भारतको प्रतिष्ठा र शक्ति आर्जन गर्न र पञ्चशीलको सिद्धान्तलाई विश्वस्तरमा प्रवद्र्धन गर्न स्वर्गिय अटल बिहारी बाजपेयीले खेलेको महत्वपूर्ण योगदानको सम्मानार्थ अटल जयन्ती मनाउन लागिएको हो ।
विशिष्ट अतिथीको रुपमा नेपालबाट महोत्सवमा सहभागी हुन इन्डो — नेपाल रिलेशन पीस फाउण्डेशनका महासचिव यबराज आचार्य जयपुर प्रस्थान गरिसकेका छन् । महोत्सवमा मध्यप्रदेश सरकारका मन्त्री रविकिरण साहुको सहभागिता रहने फाउण्डेशनले जनाएको छ ।
भारत रत्न पदवीबाट बिभूषित भारतका पूर्वप्रधानमन्त्री बाजपेयीले नेपाल र भारतबीचको सदियौं पुरानो सामाजिक, सास्कृतिक र ऐतिहासिक सम्बन्ध बिस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको हुदा दुई देशका नागरिकबीच सद्भाव र हार्दिकता बृद्धि गर्न रथयात्राको आयोजना गरिएको हो ।
जयपुरबाट काठमाण्डौका लागि १६ डिसेम्बरमा प्रस्थान गर्ने रथयात्रा २४ डिसेम्बरमा काठमाण्डौं आइपुग्नेछ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा र सर्वोच्च अदालका पूर्वन्यायधीश गिरिशचन्द्रलालले पशुपति क्षेत्रमा रथलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
काठमाण्डौंमा आयोजना गरिने कार्यक्रममा बिभिन्न क्षेत्रका ७१ जना प्रतिभालाई अटल श्री पुरस्कार र बिद्यालय स्तरका एक सय जना बालबालिकालाई बालरत्न पुरस्कारबाट सम्मानित गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।