स्याङ्जा २ मंसिर । युएईमा सञ्चालित एसिया छनोटको उपाधी बिजेता एवं सन् २०२५ मा मलेशियामा हुने विश्वकप खेल्ने इतिहास कोरेका मध्ये स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई शनिवार साँझ भब्य स्वागतका साथ गृहजिल्ला भित्रयाइएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी र १३ का सीमाना के.सी र कुसुम गोदारलाई पोखरा बिमानस्थलमा स्वागत एवं सम्मान गर्दै जिल्लामा ल्याइएको हो ।
आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएको थियो ।
शनिवार दिउसो पोखरा बिमानस्थल आइपुगेका ३ महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघ सहित यहाँका खेलप्रेमी युवाहरुले मोटरसाइकल र्याली सहित स्याङ्जा ल्याएका हुन् ।
सो टोलीलाई स्याङ्जा जिल्ला क्रिकेट संघ, जिल्ला खेलकूद विकास समिति, फेदिखोलाबासी सहित स्थानीयबासीले भब्य स्वागत, सम्मान, बधाई सहित आउदो प्रतियोगिताको उपाधी विजेताको शुभकामना दिएका छन् । गण्डकी प्रदेशबाट सहभागी भएका ४ जनामध्ये ३ जना क्रिकेट खेलाडी स्याङ्जा, पुतलीबजार नगरबासी हुन् ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरेपछि महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो ।
युएईमा सञ्चालित एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। छनोटमा नेपाल र युएई सहित कुवेत र थाइल्यान्डबीच प्रतियोगिता भएको थियो ।