स्याङ्जा १ माघ । आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ ।
आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले आजको दिनलाई नेपालमा माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइने गरिन्छ । १ माघेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने गर्दछ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्दछ । तराईवासीले १ माघलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
धर्मसिन्धुमा १ माघमा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ । नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । त्यसैगरी माघे सङ्क्रान्तिलाई मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् ।
महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान भएकाले रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शैयामा पुग्नु भएका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्याग भएको भनाई छ ।
यसैगरी, तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महाउत्सव हुने भएको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा आजेदेखि ३० गतेसम्म महाउत्सव चल्ने बताइएको छ ।