स्याङ्जा १७ असार । बर्षात सुरु भएसंगै हुन सक्ने धनजनको क्षतिको न्यूनिकरण गर्ने उदेश्यले स्याङ्जा स्थित विपद ब्यवस्थापन समितिले तयारीमा जुट्न सरोकारवालालाई सुझाव दिएको छ ।
मौसमविदहरुले यसबर्ष अघिल्ला बर्षहरुमा भन्दा बढी बर्षात हुने र बाढी पहिराको पनि जोखिम बढ्दो देखिएको जानकारी गराउदै विपदका बेला आवश्यक सहयोग गर्न र क्षति न्यूनिकरणमा समेत ध्यान दिदै सबैलाई समितिले अनुरोध गरेको छ ।
स्याङ्जा पनि उच्च जोखिमा रहेको जनाउदै आएको बेला विपद ब्यवस्थापन समितिले जिल्लाभरका एघारवटै पालिका, स्वास्थ्य, खानेपानी, रेडक्रस, उद्योग ब्यवसायी, सुरक्षाकर्मी, स्थानीयबासी लगायत सबैलाई तयारीमा रहन भनिएको छ । जोखिम देखिएका स्थानबाट सुरक्षित स्थानमा सर्न र घर, गोठ, सडक, नाली, पुल पुलेसाको उच्च निगरानी बढाउनु पर्नेमा जोड दिइएको छ ।
यसैगरी, बैठकले सबै स्थानीय पालिकाल विपद ब्यवस्थापन शाखा गठनगरी हुन सक्ने जोखिमको पूर्वतयारीमा जुटी आवश्यक पर्ने सामाग्री तथा औजारको ब्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आग्रह गर्नुभयो ।
कार्यक्रममा सेनानी प्रमुख पुरुषोत्तम कार्की, पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारी, जिल्ला अस्पताल प्रमुख डा. सुशिल मरासीनी, सडक ििडभिजन कार्यालय पोखराका निमित्त प्रमुख धु्रव पोख्रेल, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ लगायतले विपद ब्यवस्थापनमा सबैको सहयोग आवश्यक रहने र आफुहरु पनि तयारीमा जुटेको जानकारी गराउनुभयो ।
विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा अन्य विपद सम्बन्धी अन्य बिबिध बिषयमा समेत निर्णय भएका छन । विपदमा परेका तथा आगलागीबाट क्षति पुगेका ब्यक्ति तथा घरपरिवारलाई राहत एवं नगद सहयोग उपलब्ध गराउने बारेमा समेत निर्णय भएको छ ।