काठमाण्डौं, १ असार । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा हुने स्थानका बारेमा जाननकारी गराएको छ ।
भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको विभागको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । उक्त प्रभावका कारण मंगलबार दिउँसो र राति नेपालका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहने छ ।
त्यसैगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
भारी वर्षा र धेरै भारी वर्षाका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव बढेर नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।