स्याङ्जा ५ साउन । गल्याङ नगरपालिकामा पनि ड्रागन फलको उत्पादन राम्रो देखिएको छ । गल्याङ् नगरपालिका ३ लल्याङ् निवासी हुमनाथ भट्टराईले २ वर्षमै ड्रागन फल फलाएर राम्रो उत्पादन लिन सकिने पुष्टि गर्नुभएको हो ।
उहाले दुई वर्षअघि आफैंले धान, मकै उब्जाउँदै आएको ६ रोपनी जग्गामा ड्रागन खेती सुरु गर्नुभएको थियो । सूर्योदय कृषि तथा पशुपालन फर्म मार्फत उहाले ड्रागन खेती गरेको जानकारी दिनुभयो ।
पहिलो बषृमै उहाले ६ सय विरुवा लगाउनु भएको थियो । ड्रागनका लागि सर्पोर्ट चाहिने हुँदा उहाले एक सय ५० वटा पिलर समेत बनाउनुभयो । सोही पिलरमा अहिले ड्रागनका फल राताम्यै भएर झुलिरहेका छन् । यातायात व्यवसायी समेत रहेका भट्टराईले युट्युब हेरेर ड्रागन खेतीप्रति आकर्षण बढेको बताउनुभयो ।
सबै खालका बिरामीका लागि उपयुक्त फल मानिएकाले पनि यसतर्फ रुचि जागेको उहाको भनाइ छ। यसपटक ३ सय बिरुवाले फल दिएको र बजारको समस्या नभएको उहाले भन्नुभयो । प्रतिकिलो ५ सय रुपैयाँका दरले स्थानीय गल्याङ् बजारबाट बिक्री गरेको उहाले भन्नुभयो ।
पहिला चिनेजानेका र छिमेकीलाई ड्रागन फल निःशुल्क चखाउँछु । त्यसपछि उहाहरू नै किनेर खानुहुन्छ । सबै गरेर ५ लाख लगानी भएको र अर्को वर्ष सबै उठाएर नाफामा हुनेमा उहा विश्स्वत हुनुहुन्छ र भन्नुहुन्छ यसका लागि त्यती धेरै परिश्रम पर्ने रैनछ । रोप्नु, गोडमेल गरे यसको खेती राम्रो हुने रहेछ ।