पोखरा ८ साउन । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई १ बस र ४ वटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गर्नुभयो ।
प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरलले सरकारको सफलता र असफलताको पहिलो शर्त नै शान्ति सुरक्षा र सुशासन रहेको बताउनुभयो ।
प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारी र सुरक्षाकर्मीले प्रवाह गर्ने सेवामा सरकारको सफलता निर्भर हुने भएकाले त्यसै अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रहरीका भवन बनाउन, सवारी साधन उपलब्ध गराउन, खाटलगायत आवश्यक सामग्रीका लागि सरकारले लगानी गर्दै आएको बताउनुभयो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले अपुग दरबन्दी, सीमित स्रोत साधनबीच पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताउनुभयो । प्रदेशभर ७ हजार ४ सय ९४ दरबन्दी भए पनि ५ हजार ७ सय जना कार्यरत रहेको उहाले जानकारी गराउनुभयो । ।