कास्की १० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । ३ नयाँ मन्त्रीको नियुक्ति सहित ७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको थियो। अघिल्लो सरकारमा १२ मन्त्रालय थिए।
पुस २५ मा मुख्यमन्त्री नियुक्त अधिकारीले सोही दिन ३ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री अधिकारीले मंगलबार ३ नयाँ मन्त्रीमा एमालेबाट रोशनबहादुर गाहाथापामगर, श्याम गुरुङ र माओवादीबाट रेशम जुग्जालीलाई नियुक्त गर्नुभएको छ । यसअघि मुख्यमन्त्री अधिकारी नियुक्त हुँदाकै दिन एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भएका थिए । उनीहरु ४ जनाको सपथ एकै दिन पुस २५ मा भएको थियो।
७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री सहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिँदै मुख्यमन्त्री अधिकारीले सबै मन्त्रीहरुलाई विभागीय जिम्मेवारी पनि सुम्पिएका छन्। माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, एमालेकी सीता सुन्दास आर्थिक मामिला, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, एमालेकै रोशन गाहाथापामगर आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र माओवादीका रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन्।
६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा संविधानतः १२ जना मन्त्री हुनसक्छन्। संविधानले प्रदेश सभाको २० प्रतिशत सदस्य संख्या मन्त्री हुनसक्ने व्यवस्था गरेको छ।