स्याङ्जा २७ पुस । आज ३ सय औं पृथ्वी जयन्ती । राष्ट्रिय एकता दिवस पनि । सोही अवसरमा स्याङ्जाका ६ स्थानीय तहले सार्बजनिक बिदा दिएका छन्।
हिजो छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै स्याङ्जाका ११ स्थानीय तहमध्ये हालसम्म ६ स्थानीय तहले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् । यसरी बिदा दिनेमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिका रहेका छन् ।
पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा बिभक्त राज्यलाई एकिकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै एकता दिवसका रुपमा मनाउन विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती अर्थात पुस २७ गतेका दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन जिल्लाका ११ वटै पालिकामा सार्वजनि बिदाको अनुरोध गरेको थियो ।
आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सय औँ जन्मजयन्ती हो ।
शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।
पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरी जनचाहना र प्रगतिसँग सरोकार नराख्ने प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताउनुभएको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छैन । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएका थिए ।