स्याङ्जा २४ बैशाख । आगलागीका कारण एकै वडाका १३ हजार सुन्तला र कफीका बोट जलेको छ । ६ दिनअघि खेतमा झारपात जलाउने क्रममा सल्केको आगोले स्याङ्जाको एउटै वडाका झण्डै ८ हजार सुन्तलाका बोट र ५ हजार कफीका बोट लगायतमा क्षति पुगेको छ ।
सुन्तला खेतीको पकेट क्षेत्रमा भएको सो वडामा आगजनीले सुन्तला, कफी लगायतका फलफूल गरी अहिले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएको छ ।
गएको बुधवार दिउँसो लागेको आगलागीले पुतलीबजार नगरपालिका–११ स्थित करेण्डाँडा आसपासमा रहेका ४ हजार ९७७ वटा सुन्तला फल्दै गरेका र २ हजार ६७४ वटा हुर्कँदो अवस्थाका बिरुवा जलेका छन्। कफीका पनि ठूला र सानागरी ५ हजार बोट जलेको सोही वडा कार्यालयले जनाएको छ । यसैगरी तेजपात २५० बोट, सीताके च्याउ २५० मुडा, भूककटहर २ सय वटा, लिचि ४ बोट, आप ५ बोट र अलैची एकसय ५० बोट जलेका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो ।
एउटै वडाका झण्डै २२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला जलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना कार्यालयका प्राविधिक प्रमुख इन्द्र सुवेदीले बताउनुभयो । भर्खरै ससाना फल लाग्दै गरेका सुन्तलाका बोटमै आगो लागेपछि सुकेका छन ्। यसवर्ष सुन्तलाबाट सोही वडामा ९८ लाख ९३ हजार भन्दा बढीको क्षति पुगेको सुन्तला सुपरजोन प्रमुख माधव लम्सालको भनाइ छ ।
यसवर्षको कफीमा ५ लाख बराबर, सीताके च्याउमा २ लाख ५० हजार, अलैंची एक लाख ५० हजार, लिची ४० हजार, आप १५ हजार, भुइँकटहर १५ हजार लगायत अन्य फलफूल तथा तरकारीमा लाखौं मूल्य बराबरको क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।