स्याङजा, २३ पुस । स्याङ्जा गण्डकी यातायात प्रा.लि.को चौथो साधारणसभा तथा दोश्रो अधिवेशनको उदघाटनसत्र शनिवार सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दै संघिय सांसद राजु थापाले हचुवाका भरमा केही नजिकका ब्यक्तिलाई मात्र समेटेर यातायातका नीति नियम बनाईदा धेरै ब्यवसायी मार्कामा परेको बताउनुभयो । ब्यक्तिका निजी लगानीमा अरबौं रकम लगानी गरेर राज्यलाई धेरै कर तिर्ने ब्यवसायीलाई राज्यको दृष्ट्रिकोण सकारात्मक नभएको थापाको भनाई छ ।
यातायातमा धेरै विसंगती हुँदा पनि राज्य मुकदर्शक बनेको उहाको भनाइ छ। ब्यवसायीबीचको एकता र भाइचारा सम्बन्धले संस्था क्रियाशिल रहेको उहाले भन्नुभयो ।‘काठमाण्डौंका बसपार्कमा गण्डकी यातायातका सवारी साधनले सहजै छिर्न नपाउने अवस्था अझै छ। राज्यलाई कर तिरेर पनि स्वतन्त्रपूर्वक संचालन गर्न नपाउनु राज्यको गैरजिम्मेवारपन हो।’ ब्यवसायी संगठीत भएर मात्र संस्था बचेको उहाले बताउनुभयो ।
आफु संघिय सांसद भएकाले अव बन्ने ऐन नियममा यातायात ब्यवसायीका हक, हित र अधिकारका पक्षलाई ध्यान दिदै यातायात ब्यवसायमैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमममा राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विजयराज स्वार, गण्डकी प्रदेश निवर्तमान सांसद भागवतप्रकाश मल्ल, महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, राष्ट्रिय यातायात ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, अखिल नेपाल स्वतन्त्र मजदूर संगठन गण्डक प्रदेशका अध्यक्ष बिष्णु खत्री, अखिल नेपाल यातायात मजदूर संगठनका गण्डकी प्रदेश अध्यक्ष सूर्यभक्त पौडेल लगायतले यातायात ब्यवसायीका अवस्थाका बारेमा आ आफना धारणा सहित समय सापेक्ष ऐन कानूनको आवश्यकता औल्याउनुभयो ।
गण्डकी यातायात प्रा.लि.का अध्यक्ष पुष्प पोखरेलले अध्यक्षको प्रतिवेदन र महासचिव भानुभक्त बरालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा बिभिन्न ब्यक्तिलाई समेत पुरस्कृत एवं सम्मान गरिएको छ ।
