स्याङ्जा १४ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भनिएता पनि ११ बजेदेखि सुरु भएको छ ।
आयोगको निर्देशन अनुसार आज दिउसो ४ बजे बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। यद्यपी मतगणनाका लागि थप ब्यवस्थापन मिलाउने क्रममा दुइ घण्टा लम्बिएको हो ।न
गएको मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन नसकेको कार्य ११ औं दिन सुचारु भएको छ ।
यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं। २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। २ मा सर्वदलीय बैठक बसेर राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
विवादका बीच मतगणना सुरु हुन लागेपछि वालिङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । नेकपा एमालेले चापाकोट नगरपालिकाको चार वटा बुथमा धाँधली गरी बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ ।
कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । दुवै दलले मतदान भएको दोस्रो दिनदेखि नै सडकमा धर्ना दिँदै आएका थिए ।
चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन दिएको थिएन ।
