स्याङ्जा प्रशासन कार्यालयले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरेको हो । जिल्लामा कोरोना संक्रमित र मृत्युदर बढेपछि तेस्रो पटक थप गर्दे निषेधाज्ञालाई १० दिन लम्ब्याएको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्र सहित जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई कडाईका साथ लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
थप निषेधाज्ञा अबधिलाई कडाईका साथ लागु गरिने भएको छ । अत्यावश्यक सेवा वाहेकका अन्य खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने, अत्यावश्यक बाहेक घरबाट निस्कन पाइने छैंन।
तर, औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैंन्।सामाजिक कार्यमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन ।
सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गर्ने तर, एटिएम सेवा भने सुचारु राख्नेगरी निर्णय भएको छ। निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १५ दिने निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । यसअघि जारी निशेधाज्ञा भोली जेठ १५ सकिनु पूर्व बसेको बैठकले पुन १० दिन निषेधाज्ञा थप गरेको हो ।