स्याङ्जा २६ बैशाख । स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति स्याङ्जाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।
अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रवक्ता एव् सूचना अधिकारी रबिन्द्र खनालका अनुसार जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताउनुभयो । संवेदनशील ७३ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र ५३ वटा छन् ।
प्रवक्ता खनालले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा राखिएको छ ।
स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ । स्याङ्जामा १६२४ म्यादी प्रहरी भर्ना गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिलो स्थानीय निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएकाले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । अहिले सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या छ । एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ । केन्द्रसँग पनि जनशक्ति माग भइरहेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउनका लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।