स्याङ्जा, ६ फागुन । छैटौं निर्वाचन दिवसका अवसर पारेर शुक्रवार जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले बैशाख ३० गते हुन लागेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ्। निर्वाचन निरन्तर प्रक्रिया रहेकाले सरोकारवाला सबै संयन्त्रले आ आफना आचार संहिता बमोजिम निर्वाचन कार्यमा जुट्न आग्रह गर्नुभयो ्। मतदाता शिक्षा दिई मत बदर संख्या घटाउनु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेकपा एमालेमा उपसचिव विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी सचिवालय सदस्य मनबहादुर गुरुङ, नेकपा एकिकृत समाजवादीका उपसचिव श्री गुरुङ् लगायतले आउदो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय एवं मितब्ययी बनाउने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले स्याङ्जामा निर्वाचन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । चालु आव २०७८ साउनदेखि माघ २४ गतेसम्म जिल्लाभरका १८ हजार जना मतदाता थपिएको जनाउनुभयो । प्रमुखका अनुसार संबिधानसभा निर्वाचन (२०६४) मा २ लाख ९५ हजार ४४२ मतदाता थिए। दोश्रो संबिधानसभा निर्वाचन (२०७०) मा १ लाख ६२ हजार ८७० भए भने स्थानीय तह निर्वाचन (२०७४) मा १ लाख ९१ हजार २५७, प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन (२०७४) मा २ लाख १० हजार ३८ मतदाता थिए ।
तर, अहिले स्थानीय तह निर्वाचन (२०७९) मा २ लाख ४२ हजार १२२ अनुमानित तथ्यांक रहेको अधिकृत मरासीनीको भनाई छ । उहाले भन्नुभयोे, ‘यो संख्या अन्तिम होइन, अन्तिम समयसम्म मृत्यु लगत र दोहोरा नाम सच्चाउदा करिब २ हजार कम हुन सक्ने अनुमान छ ।’
जिल्लामा १७ वटा राजनीतिक दल दर्ता भएका छन्। यसअघि निर्वाचन घोषणा भएकै दिन १८ बर्ष पुरा गरेकाले मात्र मतदान गर्न पाउथे। तर, अहिले भने बैशाख २९ गतेसम्म १८ बर्ष पुगेकाले मतदान गर्न पाउनेगरी निर्वाचन आयोगले नयाँ ब्यवस्था गरेको पनि प्रमुख मरासीनीले जानकारी दिनुभयो ।
सरकारले विस २०१५ फागुन ७ गतेदेखि निर्वाचन दिवस स्मरण गर्दे २०७३ सालदेखि मनाउदै आएको हो ।स्याङ्जामा पनि निर्वाचन दिवस शुक्रबार, शनिवार र आइतवार ३ दिन बिबिध कार्यक्रमगरी मनाउने जनाएको छ ।