काठमाडौं ९ भदौं । जसपाबाट विभाजित भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्नका लागि उक्त पार्टीका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गर्नुभएको छ।
जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसद बुधबार आयोग पुगेर सनाखत गर्नुभएको हो । लोसपा दर्ताका लागि आयोगमा पुगेर प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिनुभयो।
निलम्बित सांसद रेशम चौधरीले पनि कारागारबाटै मञ्जुरीनामा दिएर नयाँ दल दर्तामा समर्थन गरेको बताइएको छ । चौधरी सहित प्रतिनिधि सभाका १३ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिनुभयो ।
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहसहितका सांसदले सनाखत गर्नुभएको छ ।
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये १७ जना कार्यकारिणी समिति सदस्यले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले बताउनुभयो । यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा ठाकुर पक्षमा १६ जना मात्रै थिए ।
योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत पुर्याएको छ ।