लुम्बिनी १५ साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाबाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उहाहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुनुहुन्छ ।
उहाहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा उपेन्द्र यादव पक्षको ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेको भन्दै पदमुक्त गरिएको हो ।
जसपा कार्यकारिणी समितिको बैठकले ह्विप उलंघन गरेको भन्दै गत असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले बताउनुभयो । रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उहालाई कारबाही भएन ।
बाँकी तीन जनाले त्यो बेला स्पष्टीकरण दिए पनि त्यसपछि पनि सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको बताइएको छ । जसपा लुम्बिनी प्रदेश संसदीय दलले हिजो मात्रै प्रदेश सभालाई कारबाहीका लागि पत्र लेखेको थियो । जसपाले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिनुभएको थियो ।