स्याङ्जा १९ भदौ । लियो क्लब अफ वालिङ्ले आउदो असोज ८ गते राष्ट्रिय स्तरको मिनि म्याराथुन प्रतियोगिता गर्ने भएको छ।
खेलकूदसंगै पर्यटनलाई जोड्ने उदेश्यले लियो क्लब अफ वालिङले मिनि म्याराथुन प्रतियोगिता गर्न लागेको लियो क्लब ३२५ एम नेपालका डिष्ट्रिक्ट सेक्रेटरी दिक्षान्त प्रताप खाँणले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग सहित भित्री सडकको उपयोग गर्दे १९ दशमलब २ किलोमिटरको धावनमार्ग निर्धारण गरिएको छ।
एक दिने सो प्रतियोगितामा देशभरका १८ देखि ३० बर्ष उमेर समूहका ३ सय भन्दा बढि धावक सहभागी हुने आयोजकको अनुमान छ।
प्रतियोगिताका लागी गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिका सहित बिभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रतियोगिता संयोजक लियो हरि रेग्मीका अनुसार ‘भीरकोट नगरपालिकाको मुख्य प्रवेशद्धाराबाट सुरु हुने दौडमा — त्रियासी — खहरे — रामबाच्छा — अर्मादी — कालीमाटी — भीमटारी — वीपी चोक — वालिङ् — भुम्रेचोक — पतन्ञ्जली मार्ग — आँधीखोला करिडोर हुदै शितल नगर — जैसीपधेंरा हुदै वालिङ् नगरपालिका पुगेर सकिनेछ।’
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १० हजार, र ४ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने १० औं स्थानसम्मकालाई पुरस्कृत गरिने बताइएको छ।
प्रतियोगी खेलाडी सबैका एक÷एक लाखको दुर्घटना विमा गरिने भएको छ। प्रतियोगितामा ६ लाख ४० हजार आम्दानी र ५ लाख ५४ हजार खर्च हुने अनुमान छ। बचत ८६ हजार बिभिन्न सामाजिक क्षेत्रमा प्रयोग गरिने लियो क्लवका प्रथम उपाध्यक्ष प्रज्वल रनपालले जानकारी दिनुभयो ।
सहभागी हुन चाहने खेलाडीका लागि अनलाईन दर्ता खुलीसकेको र दर्ता शुल्क एक हजार तोकिएको छ। प्रतियोगितामा बिभागिय टिम बाहेक देशभरका १८ देखि ३० बर्ष उमेरका इच्छुक सहभागी हुन पाउने भएको सचिव किशोर बस्यालले बताउनुभयो ।
लियो क्लब अफ वालिङ २०७६ सालमा स्थापना भएको हो। स्थापनाको छोटो समयमा क्लवले सामाजिक क्षेत्रमा राम्रो प्रभाव पार्न सफल भएको पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताउनुभयो । ‘क्लवको रचनात्मक एवं सृजनात्मक अभियानलाई हामी सबै पत्रकार साथीहरुले सहयोग रहनेछ।’ उहाले भन्नुभयो ।
