स्याङ्जा ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनु भएको छ । कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) अन्य क्लस्टरबाट, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार (तनहु) र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) विजयी हुनु भएको हो ।
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाउनुभयो । अपांगता÷अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याउनुभएको छ । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुनुभयो भने उहाकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाउनुभएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२९ मत खसेको छ । गण्डकीमा कुल २३० मत रहेकोमा २२९ मत खसेको हो । गण्डकीबाट ३ सदस्य चयनका लागि पूर्वाह्न ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानका लागि तोकिएको समयसीमामा गण्डकी प्रदेश सभामा रहेका ६० जना नै सदस्यले मत हालेका छन् ।
त्यस्तै ८५ स्थानिय तहका १७० मतदाता रहेकोमा १६९ मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । गण्डकीका ८४ स्थानिय तहका प्रमुख र ८५ वटा स्थानिय तहका उपप्रमुखले मत हालेका छन् ।
निर्वाचनमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने मतदान गरेनन् । सहकारी ठगी मुद्धामा पक्राउ पुर्जी जारी भएपछि प्रमुख नेपाली फरार छन् । गण्डकीमा ३ सदस्यका लागि ८ जना उम्मेदवार थिए । गण्डकीमा ६० प्रदेशसभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।