काठमाण्डौं ९ भदौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले बुधवार साँझ नै दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका गर्नुभएको हो ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पु¥याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको हो ।
त्यस्तै, जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गर्नुभएको हो ।
नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे ।
नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् ।