स्याङजा २७ असोज । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरीन्छ ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । यसक्रममा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।
आजको रातलाई कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आज पनि बिभिन्न शक्तिपीठहरुमा बलिसहित पूजाआजा गर्नेको भीड छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । महाअष्टमीको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने चलन छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलि सहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरू आजको दिन जमरा कोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमान ढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

आज महागौरी देवीको पूजा आराधना गरिँदै
बडादसैँ एवं नवरात्रको आज आठौँ दिन, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ ।
महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमण दर कम भएकाले शक्तिपीठ खुला गरिएको छ । सरकारले भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।