जनकपुर । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्था तर्फ १० करोड विनियोजन गरिएको छ ।
प्रदेशले नेपाल सरकारबाट १३ अर्ब ९० करोड ३४ लाख अनुदान र आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार स्रोत व्यवस्थापन गर्ने मन्त्री यादवले बताउनुभयो ।
राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार बेहोर्दा १ अर्ब न्युन हुने देखिन्छ। सो न्यून रकम पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री अक्सिजन सिलिण्डर, रेमडिसिभिर, औषधिलगायत खरिद गर्न २० करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, प्रदेशमा मिर्गौला रोगीहरूको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा डायलासिस मेसिन उपलब्ध गराउनका लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्न १२ करोड रकम विनियोजन गरिएको छ ।