विराटनगर, १ असार ः राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८र०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ।
गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो।
मंगलबार प्रदेश १ सभामा आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ल्याएको बजेटमा कोरोना विरुद्धको खोपको व्यवस्थापन, जनस्वास्थ्य केन्द्र स्थापना, अक्सिजन प्लान्ट तथा सघन उपचार कक्ष निर्माण र जिल्ला अस्पतालको स्तरोन्नतिका लागि ठूलो बजेट राखिएको छ।
गरिब तथा विपन्न वर्ग लक्षित उपचार कोषको स्थापना, दुर चिकित्सा परामर्श केन्द्रको स्थापना, स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्न अतिरिक्त पारिश्रमिकको व्यवस्था, गम्भीर प्रकृतिका बिरामीका लागि उपचार खर्चको व्यवस्था तथा औषधि र अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरुको सहज आपूर्ति लगायतका कार्यक्रम पनि प्रदेश सरकारले अघि सारेको छ। समग्र स्वास्थ्य क्षेत्रका लागी प्रदेश सरकारले ३ अर्ब २५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।