काठमाण्डौ २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेसँगै तीनवटा प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६५ बमोजिम प्रदेश नम्बर १ का सोमनाथ अधिकारी, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गंगाप्रसाद यादव पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले निर्णय अनुसार प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन जनालाई नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।