स्याङ्जा ९ असार । गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री किरण गुरुङले नेपालका लागि संघियता आवश्यक रहेको बताउनु भएको छ । आदिबासी जनजातिको आन्दोलनले गर्दा देशमा संघीयता आएको र जनजातिलाई नेतृत्वको अवसर प्रदान गर्ने पनि संघीयता भएको गण्डकी प्रदेशका पूर्व मन्त्री गुरुङले बताउनु भएको हो ।
लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको प्रथम जिल्ला अधिवेशनमा संवोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङले संघीयता चाहिँदैन भन्ने भ्रममा पर्न नपर्न समेत सुझाव दिनुभयो । सबै जातजातिका बीचमा पुग्न सहजहोस र अवसर पाउनुपर्छ भनेर जनवर्गीय संगठन निर्माण गरिएको व्यक्त गर्नुभयो । जनवर्गीय संगठनको सुरुवात गर्ने नेकपा एमाले भएको नेता गुरुङको भनाई छ । उहाँले नेतृत्वदायी भूमिकामा आदिवासी जनजातिले अवसर पाउनुपर्छ भनेर जिम्मेवारीसहित नेतृत्व प्रदान गर्दै आएको पनि नेकपा एमाले भएको औंल्याउनुभयो ।
समृद्ध नेपाल निर्माण गर्न सबै जातजाति र भाषाभाषीको संरक्षण र संवद्र्धन गर्नुपर्छ । संघीय प्रणालीमा नै यो सम्भव हुने उहाँको भनाई छ । नेपाली जनताले चाहेको समृद्ध नेपाल निर्माणमा संघीयता आवस्यक रहेकोमा उहाँको जोड छ । प्रदेश सरकार आवस्यक छैन, केन्द्र र स्थानीय सरकार भए हुन्छ भन्ने सुनिन थालेको छ । केन्द्र सरकारको बजेटमा ठूला र गौरवका योजनाहरु अगाडि बढ्छन् भने प्रदेश सरकारको बजेटबाट ग्रामिण सडकलगायत विकास निर्माणका योजनाहरु सम्पन्न हुने गर्दछन् । यस्तै स्थानीय स्तरका समस्यालाई स्थानीय सरकारबाट समाधान हुने हामी सबैले महसुस गरेका छौं—पूर्व प्रदेशमन्त्री गुरुङले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सीमा क्षेत्री,, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस लगायतले बोल्नुभएको थियो । सम्मेलन संयोजक दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हुमबहादुर गुरुङले स्वागत एवं संचालन लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश सचिव विष्णुमाया गुरुङले गर्नुभएको थियो ।
सम्मेलनले लोकबहादुर गुरुङको अध्यक्षतामा लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । गिरमान गुरुङको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा फेँदिखोलाका खेमबहादुर गुरुङ, सचिवमा बालजित गुरुङ, उपसचिवमा राजकुमारी गुरुङ, अर्का उपसचिवमा भिमबहादुर गुरुङ रहनुभएको छ भने कोषाध्यक्षमा रन्सरी गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुरुङ, खेमबहादुर गुरुङ, समबहादुर गुरुङ, चित्र गुरुङ, खुरहादुर गुरुङ, भिमकुमारी गुरुङलगायत रहनुभएको छ ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गुरुङ समुदायको हकहित र अधिकारका लागी तमु लोकतान्त्रिक संघ प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित टिमले सपथ ग्रहण समेत गरेका छन् । लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव हुमबहादुर गुरुङले निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको हो ।