स्याङजा २४ फागुन । ११४ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले शुभकामना आदानप्रदान सहित एकल महिलालाई रातो टिका सहित रातो पछ्यौरी लगाई दिने कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिकको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङजाको सहआयोजनामा महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले उपप्रमुख देवी अर्याललाई रातो दोसल्ला प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले सभ्य र समुन्नत समाज विकासमा एकल महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एकल महिलाको हकअधिकारको सुरक्षाकालागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य यशोदा पौडेल, संचीता नेपाल अर्याल, नेपाल महिला संघ पुतलीबजार नगर सदस्य धनकुमारी थापा, आमा मिलन केन्द्र, स्याङ्जाका अध्यक्ष सुनिता गौतम पौडेल, समाजसेवी हिरामणी शाही, पुतलीबजार वडा नं. १ महिला संजालकी अध्यक्ष देवी पौडेल, एकल महिला लक्ष्मी पौडेल लगायतले मन्तव्यव् गर्नुभएको थियो ।
पुतलीबजार नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख शोभाचन्द्र रेग्मीले स्वागत र पुतलीबजार शिक्षा शाखा प्राविधिक सहायक शोभा बस्यालले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा पुतलीबजार नगरपालिका भित्रका २ सय १५ जन एकल महिलालाई रातो पछ्यौरा र अबिरको टिका लगाएर सम्मान गरिएको थियो ।