स्याङ्जा २९ जेठ । जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर उम्मदेवारी दर्ता गरेका छन् । गोलाप्रथाबाट काँग्रेसले प्रमुख सहित ४ सदस्य र एमालेले उपप्रमुख सहित ५ सदस्य लिनेगरी सहमति बनेको थियो ।
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र ३ जना सदस्यको उम्मेदवारी दर्ता गरेको हो । अरु, सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणको उम्मेदवारी छ ।
यसैगरी, नेकपा एमालेले उपप्रमुखमा खड्कराज सुबेदी र अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की छन् ।
यहाँका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेले ११÷११ वटा पदमा बिजयी भएपछि जिल्ला समन्वय समितिको प्रमुखको लागि गोलाप्रथाबाट चयन गर्नुपर्ने भएको थियो ।
प्रमुखका उम्मेदवार नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल जीवन बिताउनु भएका जि.टी. काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा समेत खेप्नु भएको थियो भने स्याङ्जा बम काण्डका एक साक्षी पनि हुनुहुन्छ । निर्वाचनमा मतदान यही ३१ गते हुने र यथाशक्य छिटो घोषणा गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।