स्याङ्जा ५ फागुन । गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ ।
किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७सय वटा बंगुरका पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरेको जनाएको छ । गल्याङ नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम भैरहेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो । अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने निती अनुसार उक्त सहकारीलाई यसको जिम्मा दिएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याइएको र किसानको उत्साहको आधारमा थप रकम विनियोजन गरेर बंगुरको मासु र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा पालिका जुटेको प्रमुख अधिकारीको भनाई छ । नगरप्रमुख अधिकारीले अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्षमा दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने अपेक्षा गरिएको बताउनुभयो । यस आधारमा दुई वर्षमा दुई अर्बको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष राखिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, पशु सेवा शाखा प्रमुख सुशिल अर्याल, पशु चिकित्सक अनिस सापकोटाले किसानहरुलाई आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सेवाका लागि आफुहरु तयार रहेको बताउनुभयो । कल्लेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार रानाले ११ वटै वडामा पुगेर बंगुरका पाठापाठी वितरण गरिएको बताउनुभयो ।
एउटा बंगुरको पाठापाठीलाई छ हजार रुपैयाँ पर्नेमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भैरहेको हो ।