स्याङ्जा, २७ पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ५ मैदानका मोहन सिंह थापा तीन हप्तादेखी सम्पर्कविहिन हुनुभएको छ । उहाँ मङ्सिर २८ गतेदेखि परिवारसँगबाट सम्पर्कविहीन हुनुभएको हो ।
६८ वर्षीय थापा एक्कासी सम्पर्कविहीन भएपछी उहाँका छोरा थम बहादुर थापाले इलाका प्रहरी कार्यालय जैपतेमा पुस १ गते निवेदन दिनुभएको छ । छरछिमेक, आफन्त, नजिकैका जंगल, खोला, छिमेकी जिल्लाहरुमा खोजी कार्य गर्दासमेत नभेटीएपछी निवेदन दिनुपरेको उहाँले बताउनुभयो । उहाँको मानसिक अवस्था सामान्य रहेको तर एकसुरे स्वभाव रहेकोले गाडी चढेर अन्यत्र कतै गएको हुनसक्ने छिमेकी हेम थापाले बताउनुभयो । रक्तचापको औषधी नियमित सेवन गरिरहेकाले उहाँको अवस्थाको बारेमा परिवारले चिन्ता व्यक्त गरेका छन् ।
गहुँगोरो वर्ण, उचाई ५ फिट र तौल अन्दाजी ४० केजी रहेका मोहन सिंह थापा केहि वर्ष अघिसम्म विद्यालयमा काम गर्दै आउनुभएको थियो ।उहाँको साथमा मोबाइल पनि नभएको र कतै भेटेमा खबर गरिदिन परिवारिक सदस्यले आग्रह गरेका छन्। यस विषयमा खोजि कार्य भैरहेको र हालसम्म कतै भेटिएको सुचना प्राप्त नभएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।