काठमाण्डौ २८ मंसिर । कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान भएको छ।
सभापतिका लागि शेरबहादुर देउवा, डा।शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।
तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सक्नुभएन। पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
दोश्रो पटक जारी निर्वाचनको पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब धेरै मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सोमबार कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।
यसैबीच, दोस्रो चरणको मतदानमा देउवालाई विमलेन्द्र,प्रकाशमान र कल्याण गुरुङले समर्थन गर्नुभएको छ । शेखरलाई एक्ल्याएर देउवा,विमलेन्द्र,प्रकाशमान र कल्याणबीच मोर्चा बन्दी भएपछि दोस्रो चरणमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ । थोरै मतको अन्तरमा पराजित देउवाले विमलेन्द्र,प्रकाशमान र कल्याणको समर्थन पाएपछि शेखरमाथि दबाब बढेको छ । देउवाले शेखर बाहेकका तीनजनासँग आजै भेटघाट गरेर आफूलाई समर्थन जुटाउनु भएको हो ।
शेखरले पनि विमलेन्द्र,प्रकाशमान र कल्याणसँग आफूलाई सघाउन आग्रह गरेपनि तीनै जनाले देउवालाई समर्थन गर्ने निर्णय गर्नुभएको छ ।
अहिले सभापति चयनका लागि दोश्रो चरणको मतदान प्रक्रिया जारी छ ।