स्याङ्जा १९ असोज । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि आज ( बिहीवार) बिहानदेखि मतदान हुने भएको छ । यसअघि बुधवार साँझ मतदानको कार्य तालिका रहे पनि आजलाई सार्नुपरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय अधिवेशन कास्कीको पोखरामा १५ गते सोमबारदेखि सुरु भएको हो । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारी सहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् ।
गण्डकी एमालेमा दुई समूहबीच चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ। शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै एकसय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ जनाका लागी ३८२ जनाको उम्मेदवारी परेको छ ।