स्याङ्जा १७ कात्तिक । वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशन अन्तर्गतको निर्वाचनको मतदान कार्य आज (शुक्रवार) सम्पन्न भएका छन् ।
शुक्रबार सम्पन्न मतदानमा कूल ७ हजार ८ सय १४ मध्ये जम्मा २ हजार ७ सय ९८ मत खसेको छ । निर्वाचन उपसमितिका संयोजक मुक्तिप्रसाद पाण्डेका अनुसार कूल मतदाताको ३५.७४ प्रतिशत मत खसेको हो ।
संस्थाको वालिङ, बायँटारी, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मी गरी ४ वटा सेवाकेन्द्र र वालिङ ७ केवरेको सदस्य सम्पर्क कार्यालयमा गरी ५ स्थानमा मतदान भएका छन् । निर्वाचन समितिले जनाए अनुरुप वालिङ सेवा केन्द्रमा १ हजार १ सय ५०, बायाटारीमा ३ सय ४५, मिर्मिमा ३ सय १०, दामाचौरमा ८ सय ४२ र केवरेमा १ सय ५१ गरी कूलः२ हजार ७ सय ९८ मत खसेको हो ।
आगामी ४ वर्षे कार्यकालका लागि नवौं अधिवेशन अन्तर्गत निर्वाचन भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा मतदान हुने भएको छ ।
अध्यक्ष पदमा लक्ष्मीपति पौडेल, यमकान्त खनाल र जगदिश प्रसाद गैह«े प्रतिस्पर्धामा हुनुहुन्छ ।
उपाध्यक्षमा एक पदका लागि यज्ञप्रसाद अधिकारी र यमलाल शर्मा पङ्गेनीको उम्मेद्धवारी छ ।
यसैगरी सचिवमा गोकर्ण भट्टराई र कमल पङ्गेनी तथा कोषाध्यक्षमा यज्ञप्रसाद पाठक र दुर्गा न्यौपानेको प्रतिस्पर्धा रहेको छ ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समिति र ९ जना सदस्यका लागि भने सहमति भएको छ । मतगणना पनि आजै गणना गर्नेगरी तयारी भैरहेको बताइएको छ ।