स्याङ्जा २३ माघ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । बसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गर्छन् ।
आज विद्याकी देवीको पूजा गरिने दिन । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । यसलाई हामी ‘बसन्त पञ्चमी’ भन्छौं । ‘श्रीपञ्चमी’ भन्छौं ।
ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।
हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी । वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति ।
कसरी पूजा गर्ने ?
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।