स्याङ्जा १८ कात्तिक । आज तिहारको तेस्रो दिन । घर घरमा लक्ष्मीको पुजाआराधना गरिदैछ । आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री(सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ ।
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी ९झिरझिरे०, आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको बिशेषता हो ।
टोलछिमेकका चेलीबेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे मौलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।
वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ ।हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।