स्याङ्जा ९ पुस । आज डिसेम्बर २५ क्रिसमस डे । नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आजको दिनलाई पर्वका रुपमा मनाउँदैछन् ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा समेत दिएको छ ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमस ट्री लगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।