पोखरा २३ जेठ । मुख्यमन्त्रीको तयारी नपुगेपछि आइतबारका लागि डाकिएको गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल टुंग्याएर रोकिएको बैठक सरकारले विस्वासको मत लिने बेला मात्रै खुल्ने भएको छ । संविधानतः जेठ २७ भित्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
सभामुख नेत्रनाथ अधिकारीले बिहीबारको बैठकमा २३ गतेका लागि अर्को बैठक बोलाउनुभएको थियो । तर सत्तापक्ष त्यसका लागि तयार भएन । ‘उहाँहरुले समय माग्नुभयो । सत्तापक्ष २७ गते बैठक बोलाएर एकैदिन सबै कार्यसूची सिध्याउने पक्षमा छ,’ उहाले भन्नुभयो, ‘अरुले माननीयलाई एजेन्डामाथि बोल्ने समय कम हुने भन्दै कम्तीमा २ दिन बैठक बस्नुपर्ने सुझाव दिनुभएको छ । अब छलफल गरेर टुंगो लाग्छ ।’
आइतकारको बैठकका लागि शनिबार कार्यव्यवस्था परामर्श समितिको बैठक थियो । ‘यस्तो बेला अरु विधेयक छलफल गर्ने कुरा भएन । सरकारले सिधै विश्वासको मत लिन्छ,’ एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘२७ गते बैठक बोलाउन सुझाव दिएका छौं । फाइनल भने होइन ।’ विपक्षीहरु कम्तीमा २६ गतेदेखि छलफल सुरु गर्नुपर्ने बताउँछन् । सांसदहरुले धेरै बोल्न खोज्दा समय अभाव हुने उहाहरुको तर्क छ । सरकार विश्वासको मत लिन सांसदहरु फकाउन व्यस्त छ । केन्द्रीय गठबन्धन कायम रहँदा यहाँ एमाले ओली समूहले बहुमत पाउने सम्भावना करिब सकिएको छ ।
वैशाख २ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसमा छलफल चल्दै गर्दा मुख्यमन्त्रीले राजीनामा दिएर संयुक्त सरकार गठनको बाटो खोलिदिए । संयुक्त सरकार बन्न सकेन र पुनः उहा नै मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।